काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार गीतको भिडियो सार्वजनिक गरेको हो ।
गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतमा रत्न बीकको बाँसुरी, मदन रेग्मीको मादल तथा खैँजडी, शिशिर परियारको पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीको सारङ्गी सुन्न सकिन्छ । गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन् ।
प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सिनेमाका कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन र खड्क बहादुर पुन (खबपु) लगायतले अभिनय गरेका छन् । भिडियोमा सोनम र उपासनाको जोडी आकर्षक देखिएको छ भने अन्य कलाकारको पहिरन र स्वाभाविक हाउभाउले भिडियोलाई थप रमाइलो बनाएको छ ।
यसअघि सिनेमामा समावेश ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका दुई गीत सार्वजनिक भइसकेका छन् । दुवै गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालमा दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाएका छन् । तेस्रो गीतलाई पनि दर्शकले उत्तिकै मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ ।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक अशोक थापा मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा तथा भावनालाई सिनेमामा प्रस्तुत गरिएको छ ।
सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् । त्यस्तै, बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन् । यसै सिनेमामार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन् ।


