काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकबिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ।
विजयादशमी, २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको दुःख सम्झनुभएको छ ।
सभापति लामिछानेले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ ।
नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उहाँले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।


