काठमाडौं । सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली सहभागी हुनेछन् ।
६ टोलीको टुंगो लाग्यो
प्रतियोगितामा सहभागी हुने आठमध्ये हालसम्म छ टोलीको टुंगो लागेको छ । लिग–२ बाट आयोजक नेपाल, क्यानडा र यूएई छनोट भएका छन् । त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डा तथा च्यालेन्ज लिग ‘ए’ बाट जर्सीले स्थान पक्का गरेका छन् ।
बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ । च्यालेन्ज लिग ‘ए’ बाट कुवेत छनोट हुने सम्भावना बलियो रहेको बताइएको छ भने लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोलीले प्लेअफमा स्थान बनाउनेछ ।
शीर्ष चार टोलीले विश्वकप छनोट खेल्ने
नेपालमा हुने छनोट प्लेअफ प्रतियोगिताका शीर्ष चार टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको मुख्य छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
यस प्रतियोगितालाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने नेपालले विश्वकप छनोटको अर्को चरणमा पुग्न आफ्नो प्रदर्शन सुधार गर्नुपर्नेछ ।
नेपाल र भारत ‘ए’ बीचको शृङ्खलाको तालिका परिवर्तन हुने
विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएपछि यसअघि डिसेम्बर ९, ११ र १३ का लागि तय भएको नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको तालिका परिवर्तन हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) बीचको आपसी समझदारीमा शृङ्खलाको नयाँ मिति पछि सार्वजनिक गरिने क्यानले जनाएको छ ।


