काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणका क्रममा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ । घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् ।
साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको साउदी अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार बिहान ड्रोन आक्रमण भएको थियो ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार प्रशोधन केन्द्रतर्फ आइरहेको ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको ड्रोनको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको एउटा गाडीमा आगलागी भएको थियो ।
आगलागीमा परी एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । तर, मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।
घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


