भाद्र ८ ,काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप चार सय ८७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।यही अवधिमा चार हजार एक सय ७७ को नमूना परीक्षण गरिएको थियो । एक हजार आठ सय छ जनाले पिसिआर र दुई हजार तीन सय ७१ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसै अवधिमा ३९ हजार चार सय ४८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने एक सय ६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९८ रहेको छ ।
आज एक सय ६४ सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा आज ललितपुरमा २४, भक्तपुरमा ११ र काठमाडौँमा एक सय १७ गरी एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।आज होम आइसोलेशनमा चार हजार एक सय २३ जना, संस्थागत आइसोलेशन एक सय ७५, आइसियु ५० र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् ।


