भाद्र २३ , काठमाडौं । एक महिना गृहकार्य गर्दा पनि सिट बाँडफाँडको आधार, मोडालिटी र संख्या पूर्ण रूपमा टुंग्याउन नसकेपछि गठबन्धन कार्यदलले शीर्ष नेतृत्वलाई अधुरो प्रतिवेदन बुझाउँदै छ । मिलेका विषय टुंग्याएर नमिलेका विषयमा विकल्पसहित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउन लागेको हो । प्रतिवेदन बुझाउनुअघि अहिले बिहान कार्यदल बैठक बस्दै छ ।
कार्यदलका एक सदस्यका अनुसार बुधबारसम्म करिब ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरो दाबी छ । ‘एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९० क्षेत्रको बाँडफाँड करिब टुंगिएको छ । करिब १० स्थानमा दोहोरो र करिब १५ स्थानमा तेहेरो दाबी छ । र, बाँकी क्षेत्र कुन क्षेत्र कसले लिने भन्ने टुंगिन सकेको छैन,’ कृष्ण सिटौला संयोजकत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलका एक सदस्यले भने ।
कार्यदल सदस्यहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर सहमति जुटेका सिटसम्म समेटेर प्रतिवेदन बनाउने कार्यदलको तयारी छ । नमिलेका सिट शीर्ष नेतृत्वले टुंग्याउने कार्यदल सदस्यहरूले बताएका छन् । ०७४ र ०७९ को निर्वाचन परिणामलाई आधार मानेर क्षेत्रहरूमा दलहरूका दाबी छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार २ र ३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । जसका लागि दलहरूसँग नौ दिन मात्र समय बाँकी छ । त्यस्तै, २३ देखि २६ असोजसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ । २० साउनमा शीर्ष नेताले सिट बाँडफाँडको विषय टुंगो लगाउन कार्यदल गठनको निर्णय गरेका थिए ।


