भाद्र २८ ,काठमाडौं । चीनले स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीका कारण रोकिएका सबै कन्टेनर दसैँअघि नै नेपाल आउन दिने आश्वासन दिएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली झाङ्सुले सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भएको औपचारिक वार्तामा रोकिएका सबै कन्टेनर नेपाल पठाइदिने आश्वासन दिएका हुन् । सभामुख सापकोटाको निमन्त्रणामा ली नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल चारदिने नेपाल भ्रमणमा छ ।
नेपाली व्यापारीले सडकमार्गबाट ल्याउँदै गरेका सामान बोकेका कन्टेनर चीन नाकामा रोकिएका छन् । नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत यसका लागि प्रयास गर्दै आएको थियो । तैपनि चिनियाँ पक्षले यसलाई सम्बोधन गरेको थिएन । सभामुख सापकोटाले औपचारिक वार्तामा सीमानाका र तिब्बतका विभिन्न ठाउँमा रोकिएका कन्टेनर पठाइदिन आग्रह गरेपछि जनकंग्रेस अध्यक्ष लीले सकारात्मक जवाफ दिएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षले नेपालतर्फ प्रस्थान गरेर कोभिडका कारण तिब्बतका विभिन्न ठाउँमा रोकिएका सबै कन्टेनरलाई दसैँभन्दा अघि नै नेपाल प्रवेश गर्न दिने आश्वस्त पारेको छ । ‘नेपालमा चाडपर्व आउनुभन्दा अगाडि नै सकेसम्म चाँडो कन्टेनर नेपाल पठाउने आश्वासन चिनियाँ पक्षले दिएको छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पक्षले चीनसँग बढ्दो व्यापारघाटा अन्त्य गर्न सहयोग गर्नुपर्नेमा जोड दिएको थियो । यसमा चीन पक्षले नेपालको आवश्यकता सम्बोधन गर्ने उपयुक्त उपाय अपनाउने आश्वासन दिएको परराष्ट्रले जनाएको छ । नेपाली जनताको जीविकोपार्जनमा सहयोग हुने क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहन गर्ने आश्वासन पनि चिनियाँ पक्षले दिएको छ ।


