कार्तिक २, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि चर्चित उम्मेदवार हुन् ।
२०४८ सालदेखि यो क्षेत्रमा कांग्रेसको राजनीति गरेका प्रधान र एमालेका नवप्रवेशी खनाल चुनावी प्रचार प्रसारको अभियानमा लागिसकेका छन् । यसअघि २ पटक निर्वाचित भएर सो क्षेत्रमा गरेको विकास निर्माणको काम हेरेर मतदाताले आफूलाई निर्वाचित गराउने कुरामा प्रधान विश्वस्त देखिएका छन् भने खनाल प्रहरी सेवामा रहँदाको आफ्नो लोकप्रियता र नयाँ चुनावी एजेण्डाका साथ मत तान्ने कोसिसमा लागेका छन् ।


