कार्तिक ८ , चितवन । चोटपटक तथा दुर्घटनाका घाइतेको ‘ट्रमा’ उपचारका लागि प्रख्यात भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले नयाँ विस्तारित आकस्मिक कक्षबाट सेवा शुभारम्भ गरेको छ ।भरतपुर–१० मा रहेको अस्पतालले सुविधासम्पन्न आकस्मिक कक्षको शुभारम्भ लक्ष्मीपूजाको अवसर पारेर सोमबार गरेको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले रिबन काटेर कक्षको उद्घाटन गरे ।
सो क्रममा मन्तव्य व्यक्त गर्दै अधिकारीले धेरैलाई जीवन दिएको अस्पतालले अझै विस्तारित र स्तरीय सेवा दिनुपर्ने बताए । दुर्घटनामा घाइते भएकालाई आकस्मिक उपचार दिएर जीवन फर्काउन एलाइभको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल उद्योग परिसंघ बागमती प्रदेश अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी र अधिकारकर्मी मीना खरेलले मध्यनेपालमा ट्रमा उपचारका लागि एलाइभले गरेको योगदानको चर्चा गरे ।
वि.सं. २०६८ असार २४ गते स्थापना गरिएको अस्पतालले स्थापनाको ११ वर्षमा करिब २० हजार शल्यक्रिया गरेको अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख अर्थोपेडिक सर्जन डा. प्रमोद लामिछानेले जानकारी दिए ।
मुख्यगरी हाडजोर्नीको शल्यक्रिया हुने अस्पतालबाट मेरुदण्ड, न्युरो, अनुहारको हड्डीसम्बन्धी शल्यक्रिया(मेक्जिलोफेसियल), चोटपटक, जोर्नी प्रत्यारोपण, दुरबिनबाट जोर्नी शल्यक्रिया तथा दुर्घटनाबाट हुने ठूला चोटपटकको शल्यक्रिया सेवा दिइरहेको डा. लामिछानेले बताए ।

नयाँ आकस्मिक कक्ष विश्वस्तरीय भएको उनले बताए । “मैले हालै युरोपको नेदरल्याण्ड्समा फेलोसिप गर्दा त्यहाँका कैयौँ अस्पताल हेरेँ”, उनले भने– “त्यही देखेर त्यहाँको मापदण्ड भेटाउने गरी नयाँ आकस्मिक कक्ष बनाएको हुँ ।”‘ट्रमा इमरजेन्सी सर्भिस’का लागि ४ जना विशेषज्ञसहित १५ जना स्वास्थ्यकर्मीको टोली हरदम ‘स्ट्याण्डबाई’ रहने उनले बताए ।
यसै सन्दर्भमा चोटपटक तथा दुर्घटनाका घाइतेको ‘ट्रमा’ उपचारमा विश्वस्तरीय प्रविधिको प्रयोग र सेवाका लागि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पनि अस्पतालले पाएको उनले बताए ।यो अस्पतालमा हाल ‘ट्रमा’ सेवातर्फ मात्रै ६ जना विशेषज्ञ शल्यचिकित्सक (सर्जन) तथा ३ जना विशेषज्ञ एनेस्थेसियोलोजिस्ट आबद्ध छन् ।


