पुस २१ , काठमाडौं । अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो देशको राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरेको छ ।विश्व फुटबलका लेजेण्ड पेलेको स्मृतिमा स्टाडियो नेसनल डी काबो भर्डको नाम ‘पेले स्टेडियम’ नामाकरण गरिएको छ।
केप भर्डका प्रधानमन्त्री सिल्भाले राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरिएको बताएका छन् ।१५ हजार दर्शक क्षमताको उक्त रंगशाला राजधानी प्राइया नजिकै रहेको छ ।
फिफा अध्यक्ष जियानी इनफान्टिनोले हालै हरेक देशले पेलेको स्मृतिमा एक रंगशालाको नाम पेलेको नाममा राख्नु पर्ने धारणा राखेका थिए ।विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन पेलेको ८२ वर्षको उमेरमा गत हप्ता निधन भएको थियो ।
तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए ।पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए ।पेले चारवटा विश्वकपमा गोल गर्ने खेलाडी मध्येका एक हुन् ।
पेलेले २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए ।पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् ।पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित गरिएको थियो ।


