पुस २१ , काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शेयरबजार लगातार उच्च अङ्कले बढिरहेको छ । विभिन्न बिदाका कारण पुसको ७ गतेपछि ११ गतेसम्म शेयर कारोबार हुन पाएको थिएन । पुसको ७ गते शेयर बजार परिसूचक नेप्से १ हजार ८ सय ६७ बिन्दुमा रहेको थियो । तर नयाँ सरकार गठन भएको पहिलो दिन ११ गते नै बजार ५६ अङ्कले बढ्यो । १८ सय ६७ बिन्दुमा रहेको बजारले १९ सयको बिन्दु पार गर्यो ।
१२ गते पनि शेयरबजार उच्च अङ्कले नै उकालो लाग्यो । १२ गते बजार ५९ अङ्कले बढ्यो भने तीन अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो । १३ गते बजारमा सामान्य करेक्सन देखियो । १३ गते बजार १२ अङ्कले घट्यो भने दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । १४ गते बजार फेरि ५६ अङ्कले बढेर दुई हजार बिन्दुभन्दा माथि पुग्यो । १५ र १६ गते बिदाका कारण कारोबार भएन । १७ गते आइतवार बजार १७ अङ्कले र १८ गते झण्डै १२ अङ्कले बढ्यो । १८ गते मङ्गलवार बजारमा सामान्य करेक्सन देखियो । शेयर बजार मङ्गलवार तीन अङ्कले घट्यो । अब बजार करेक्सनको बाटोमा जान्छ भन्ने अनुमानकाबीच २० गते बुधवार शेयरबजार फेरि झण्डै ६५ अङ्कले बढेको छ ।
नयाँ सरकार गठन भएपछि ८ दिन कारोबार हुँदा बजार दुई सय ५८ अङ्कले बढिसकेको छ । ८ दिन कारोबार भएकोमा ६ दिन नेप्से बढेको छ भने २ दिन सामान्य घटेको छ । कारोबार रकममा पनि सुधार हुँदै गएको छ ।
विष्णु पौडेललाई बजारको साथ
शेयरबजारले अर्थमन्त्री बनेको बेला एमालेका नेता विष्णु पौडेललाई निकै रुचाएको विगत छ । पौडेल अर्थमन्त्री बन्दा शेयरबजारले दुई पटकसम्म रेकर्ड बनाएको छ । २०७२ सालमा विष्णु पौडेल अर्थमन्त्री बन्दा शेयरबजार ‘बुलिस ट्रेन्ड’ मा थियो । २०७२ सालमा बजारले १८ सय ८१ बिन्दुको कीर्तिमान कायम गरेको थियो ।
त्यसपछि एमालेकै अर्थमन्त्री बने पनि बजारले रुचाएन । एमालेले २०७४ सालमा केपी शर्मा ओलीको नेतृत्वमा युवराज खतिवडालाई अर्थमन्त्री बनाएको थियो तर बजारले रुचाएन । ६ वर्षसम्म बजारले अर्को रेकर्ड बनाउन सकेन । तर २०७७ सालमा विष्णु पौडेल पुनः अर्थमन्त्री बनेर आएपछि २०७८ सालमा बजारले ३२ सय बिन्दुको नयाँ कीर्तिमान बनायो । अहिले पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि बजार बढेको बढ्यै छ ।


