साउन १८ , काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक काठमाडौँको कमलादीमा जारी छ। बुधबारदेखि काठमाडौँमा चलिरहेको नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि केन्द्रिय सदस्यहरुले धारणा राखिरहनुभएको छ । बुधबार १८ जना र आज (बिहीबार) ५६ केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो । भोलि शुक्रबार पनि सदस्यहरु आफ्नो धारणा राख्नेक्रम जारी रहने छ ।
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि आफ्ना धारणा राख्दै केन्द्रिय सदस्यहरुले पार्टीलाई सुदृढ र बलियो बनाउन नेतृत्व पुनः जनतातर्फ फर्किनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकमा सहभागी केन्द्रिय सदस्य कृष्णध्वज खड्काले बैठकमा पार्टी अध्यक्षको राजनीतिक तथा सांगठानिक प्रस्ताव कार्यान्वयन गर्न र पार्टी जनतातर्फ फर्कनुपर्नेमा सदस्यहरुले जोड दिनुभएको जानकारी दिनुभयो ।
केन्द्रिय सदस्य बलावती शर्माले माओवादी पार्टी राजनीतिक तथा सांगठानिक दृष्टिकोणले बलियो भए पनि नीति र विधान कार्यान्वयनमा कमजोर रहेकाले यो बैठकले नीति कार्यान्वयनलाई जोड दिने बताउनुभयो ।
अर्का केन्द्रिय सदस्य युवराज दुलालले माओवादी केन्द्र सुशासन, विकास र समृद्धिको नेतृत्व गर्न आइपुगेको स्पष्ट पार्दै केन्द्रिय कमिटी बैठकले अब पार्टी विधि विधान र नेता नेतृत्वलाई पारदर्शी बनाउन जोड दिने बताउनुभयो ।
केन्द्रिय सदस्य रञ्जित तामाङले माओवादी नेतृत्वको सरकार र माओवादीप्रति जनताको आशा जागृत हुँदै गएकाले केन्द्रिय कमिटी बैठकले जनतालाई थप विश्वस्त पार्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहनुभएका केन्द्रिय सदस्य सुदन किरातीले दलहरूमाथि नागरिकमा शङ्का बढेको भन्दै बैठक यस्ता समस्या समाधानको प्रारम्भिक बिन्दु बन्ने धारणा राख्नुभयो ।
बुधबारदेखि सुरु माओवादी केन्द्रिय कमिटी बैठक साउन २१ गतेसम्म चल्नेछ । आशा गरौँ ५ दिनसम्म नेतृत्वबीच हुने घनिभूत छलफलले माओवादीले भनेझैँ जनताको अवस्था बदल्ने नीति र कार्यक्रम तय गर्नेछ ।


