२५ असोज,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय आर्थिक बहस” कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो । ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छाैं,’ प्रधानमन्त्री प्रचण्डले भन्नु भयो, ‘अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ ।’
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका लागि मेजर अप्रेसन गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने बताउनु भयो ।
‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन । रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नु भयो, ‘वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार भएको छ । तर, मूल सुधार बाँकी छ ।’


