सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्रीको विषयमा चार वटा संसदीय समितिले छलफल चलाएको र अध्ययन गरिरहेको विषयमा चासो देखाएका छन् । संसद सचिवालयका अनुसार चार वटै समितिका सभापतिसँग छुट्टाछुट्टै भेटेर सभामुख घिमिरेले एउटै समितिमा छलफल चलाउन आग्रह गरेका छन् ।
नेपालको नियामक निकायलाई जानकारी नै नगराइ एनसेलको शेयर खरिद–बिक्री भएको भनी प्रश्न उठेपछि प्रतिनिधिसभाका अर्थ समिति, सार्वजनिक लेखासमिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले छलफल चलाइसकेका छन् ।
गत मंसिर २० गते प्रतिनिधिसभाको अर्थ समिति र सार्वजनिक लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुर संचार प्राधिकरण, कम्पनी रजिष्टारको कार्यालयका अधिकारीहरुको उपस्थितिमा छलफल चलाएका थिए ।
अर्थ समितिले शेयर खरिद–बिक्रीको विवरण नियामक निकायसँग मागेको छ भने सार्वजनिक लेखा समितिले पनि शेयर स्वामित्व हस्तान्तरण रोक्न र मौजुदा कानुन संशोधन गर्न सरकारलाई दिर्नेशन दिएको छ ।
मंसिर २२ गते प्रधनमन्त्री पुष्पकमल दाहाल समेतको उपस्थितिमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल गरेको थियो । पुस १५ गतेदेखि एनसेलको शेयर खरिदबिक्रीको सम्बन्धमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले छलफल शुरु गरेको छ ।
एक भन्दा बढी समितिले एउटै विषयमाथि छलफल चलाउन थालेपछि सभामुख घिमिरेले चार वटै समितिका सभापतिसँग छुट्टाछुट्टै भेटेर एउटै समितिमा छलफल चलाउन आग्रह गरेका हुन् ।
गृह मन्त्रालयले छानबिन समिति गठन गरेको, सरकारले नै उच्च स्तरीय छानबिन समिति गठन गरेको र गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आफूहरुको कार्यक्षेत्र भित्र रहेको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिले एनसेशल शेयर खरिदबिक्रीको विषयमाथि आवश्यकताका आधारमा निरन्तर छलफल चलाउने भनेको छ ।


