उदयपुरका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी नगरपालिका -५ स्थित सिवाई-बेल्हा जोड्ने भाँचिएको पुल निर्माण नगरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै धर्ना दिने चेतानवी दिएका छन् ।
बुधबार स्थानीय जनप्रतिनिधि र प्रमुख राजनीतिक दलका प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाउँदै भाँचिएको पुल तत्काल निर्माण सुरु गर्न खबरदारी गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले भाँचिएको पुल जसरी पनि बन्ने प्रक्रिया र माग पूरा नभएसम्म उदयपुर नफर्किने र मन्त्रालयमै धर्ना दिने बताएका छन् । ‘मन्त्री, सचिव, डिजी बोलाएर हुन्छ कि के गरेर हुन्छ त्यो काम हुनुपर्छ। मन्त्रिपरिषदबाट हाम्रै अगाडि पुल बन्ने बजेट र प्रक्रिया पास हुनुपर्छ । नत्र हामी घर फर्किँदैनौं’, खड्काले भने ।
चौचण्डीगढी नगरपालिका-५ का वडाअध्यक्ष तुलसी ढकालले गत कात्तिकमा पनि पुल निर्माण गर्ने वचन पाएको तर काम नभएको बताएका छन् । ‘गत साउन १४ गते मन्त्रीले दिनुभएको आश्वासन र वचन पूरा भएन । त्यसकारण हामी सबै जनप्रतिनिधिहरू फेरि संघीय राजधानी काठमाडौं आएका छौं। अब पनि पुल निर्माण सुरू गर्ने सुरसार नदेखाए यहीँ मन्त्रालयमै धर्ना बस्ने छौं’, उनले भने ।
चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ सिवाई-बेल्हा जोड्ने पुल २०६६ सालमा शिलान्यास भई २०७७/०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ । उद्घाटन अघिनै भाँचिएको पुल जस्ताको तस्तै अवस्थामा रहेपछि वर्खायाममा यहाँका स्थानीय वासिन्दाले सास्ती बेहोरिरहेका छन् ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्छ । उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर, पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।
पुलको निर्माण महालक्ष्मीरलोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।


