नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अपराह्न १२ः४५ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार आज बस्ने सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने छ।
‘राष्ट्रिय सभा सदस्य उम्मेदवार, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका गतिविधिहरूबारे छलफल हुनेछ,’ गौतमले सेतोपाटीसँग भने।
माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दिनुपर्ने छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशलाई उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको थियो। प्रदेश कमिटीले मातहतका जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस गर्न भनेको थियो।
एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभामा मिलेर उम्मेदवारी दिन प्रस्ताव गरेको थियो। फागुन २० पछि रिक्त हुन लागेको २० सिटमा एमालेलाई शून्य नपार्न अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रस्ताव गरेको भनेर उनले गठबन्धनको बैठकमा भनेका थिए।
बिहीबार बिहान सत्ता गठबन्धनको बैठकमा एमालेसँगको सहकार्यबारे कुरा राख्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमति जनाएका थिए।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच छलफल भएको थियो।
प्रचण्डले बुधबार साँझको बैठकबारे बताउने बित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसको विरोध गरेको स्रोतको दाबी छ।
एमालेले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई देखाएर राष्ट्रिय सभामा मोलमोलाइ गरेको सत्ता गठबन्धन घटक दलको बुझाइ छ।
‘संक्रमणकालीन न्यायलाई देखाउने र जहाँ पनि आफ्नो हिस्सा खोज्ने ढंगबाट एमाले अघि बढिरहेको छ,’ सत्ता गठबन्धन घटक दलका एक नेताले भने, ‘एमालेको पछिल्लो गतिविधिले उसको प्रतिपक्षी दलको भूमिका कमजोर बनाइरहेको छ।’


