नेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हाक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदूत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा स्वागत गरेको हो ।
उपाध्यक्ष डा. लामाले राजदूत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
उहाँले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैरहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताउनु भयो । एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदूत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलङ्काबाट नियमित उडान हुने प्रतिबद्धता जनाएका छन् ।
उहाँले बुद्धजन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताउनु भयो । उक्त अवसरमा राजदूत पाथिराना र उपाध्यक्ष डा। लामाबिच लुम्बिनीको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकास, संरक्षण र संवर्द्धन गर्ने विषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।
राजदूत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । राजदूत पाथिरानाले लुम्बिनीसँगै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् ।


