आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि संसदको पाँचौं ठूलो दल राप्रपाले सबै प्रदेशमा आफ्ना उम्मेदवार फाइनल गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका उम्मेदवारको नाम टुंग्याएको हो ।
बिहान संसदीय दलको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो । त्यसपछि बसेको कार्यसम्पादन समिति बैठकले उक्त सिफारिसलाई सदर गर्नुका साथै सत्ता गठबन्धनसँग तालमेलको पहल गर्ने निर्णयसमेत गरेको छ । गठबन्धन नेताहरूसँग छलफल गर्ने जिम्मेवारी कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिइएको स्रोतले बतायो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन मलेसियामा छन् । उनी राष्ट्रिय सभा चुनावका लागि मनोनयन दर्ता गराउने भोलिपल्ट (२४ गते) मात्र फर्किने कार्यक्रम छ । त्यसैले कार्यवाहक अध्यक्षको भूमिकामा रहेका तामाङलाई सबै जिम्मेवारी दिइएको हो ।
गठबन्धनसित राप्रपाले एक सिटको माग गर्नेछ । यदि त्यसमा सहमति भएको खण्डमा उद्धव पौडेललाई पठाइने राप्रपा स्रोतले बतायो । पार्टीका वरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनी राष्ट्रिय सभा छिर्ने दौडबाट आफैँ अलग भएका छन् ।
तपाईको प्रतिक्रिया


