चालु आर्थिक वर्ष धान उत्पादन बढेको छ । धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको हो । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान फलेको थियो ।
कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले चालु आर्थिक वर्ष धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कमी आउनका साथै बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी हुनु मुख्य कारण रहेको उल्लेख गरेको छ । मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग गरिएकाले पनि उत्पादन वृद्धि भएको बताउनु भयो ।
‘ओभरअल गत वर्ष भन्दा उत्पादकत्व बढेको छ,’ उहाँले भन्नुभयो, ‘उत्पादन किन बढ्यो भनेर हेर्दा मलखाद उपलब्धता, मनसुनले ह्याम्पर गरेन, मनसुन ढिलो गरी भयो तर पनि रोपाइँ नर्मली ९५ प्रतिशत भयो ।’
कृषिविज्ञ छवि पौडेलका अनुसार ‘नेपालमा धान बाली उत्पादन मौसममा आधारित छ’ । ‘यो वर्ष ढिलोगरी मनसुन सुरु भए पनि बालीलाई भने हानि गरेन, त्यसकारण उतपादनमा वृद्धि देखिएको हो ।’
धानको उन्नत जात तथा हाइब्रिड जात प्रयोग गर्ने भएकाले पनि धानको उत्पादन बढेको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका पूर्व धान संयोजक डा।रामवरण यादवले बताउनु भयो । ‘किसानले मल समयमा पाए, बढी उत्पादन दिने जातहरु हार्दिनाथ, राधा–४, सर्जु ५२ लगायत धानहरु लगाए,’ उहाँले भन्नुभयो ‘त्यसैको उपलब्धिस्वरुप यसपाली धान उत्पादन वृद्धि भयो ।’
कुन प्रदेशमा कति उत्पादन भयो धान
कृषि मन्त्रालयका अनुसार कोशी प्रदेशमा चालु आर्थिक वर्षमा ३ लाख २४ हजार हेक्टर क्षेत्रफलबाट १४ लाख ३५ हजार मेट्रिक टन धान फलेको छ । गत वर्ष कोशीमा ३ लाख ३२ हजार हेक्टर क्षेत्रफलबाट १३ लाख ३६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै, मधेस प्रदेशमा ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १३ लाख ३७ हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मधेस प्रदेशमा ३ लाख ७५ हजार हेक्टर क्षेत्रफलबाट १३ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै, बागमती प्रदेशमा १ लाख २८ हजार हेक्टर क्षेत्रफलबाट ५ लाख ४ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यो प्रदेशमा १ लाख ३० हजार हेक्टर क्षेत्रफलबाट ५ लाख मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशमा १ लाख १ हजार हेक्टर क्षेत्रफलबाट ३ लाख ९१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष गण्डकीमा १ लाख ६ हजार हेक्टर क्षेत्रफलमा ३ लाख ९१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै, लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष १३ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ । ३ लाख २ हजार हेक्टर क्षेत्रफलबाट सो उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत वर्ष ३ लाख १ हजार हेक्टर क्षेत्रफलबाट ११ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
कर्णाली प्रदेशमा ४१ हजार हेक्टर क्षेत्रफलबाट १ लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष सो प्रदेशमा ३८ हजार हेक्टर क्षेत्रफलबाट १ लाख २९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा १ लाख ५६ हजार हेक्टर क्षेत्रफलबाट ५ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष सो प्रदेशमा १ लाख ६२ हजार हेक्टरमा धान खेती भएकोमा ५ लाख ८९ हजार मेट्रिक टन उत्पादन भएको थियो ।


