प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो १ वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताउनु भएको छ ।
सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम’को उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नु भयो, ‘तपाईंहरूलाई थाहै छ– मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ। जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिशंकु संसद्ले राजनीतिक स्थायित्व दिनेरनदिनेमा निकै ठूलो संशय थियो। तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन्।’
प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गर्नुभयो ।

मन्त्री फेरबदलको संकेत
प्रचण्डले काम नगर्ने मन्त्रीहरुलाई महिना दिनमै हेरफेर गर्ने चेतावनी दिनु भएको छ । ‘आजकाल म १० बजे नै सिंहदरबार पुग्छु। सबै मन्त्रालयहरुको ब्रिफिङ लिन्छु। उनीहरुलाई टार्गेट दिन्छु। यो एक महिनाभित्र पूरा भएन भने हेरफेर गर्ने प्रतिवद्धता व्यक्त गरेको छु,’ प्रचण्डले भन्नु भयो ।
आफ्नै कार्यशैलीबाट सरकारलाई अझ सुधारको गतिमा लैजाने उहाँले बताउनु भयो । गत पुस १० गते जनताको नाममा सम्बोधन गर्दै काम गर्न नसक्ने मन्त्रीहरुलाई ठाउँ ओगटेर नबस्न भनेका थिए। ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन,’ दाहालले भनेका थिए, ‘हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’
प्रचण्डले कार्यसम्पादनमा अब्बल नभए आफूले पनि पद ओगटिरहन नमिल्ने बताउनुभयो। ‘यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,’ उहाँले भन्नुभयो ।


