नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सोमबार पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा सम्बोधन गर्दै छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम तय भए अनुसार सभापति देउवा बाहेकका नेताहरू सदरमुकाम कुश्मा बजार पुगेका छन्।
सोमबार बिहान ११ बजेदेखि हुने कार्यक्रममा सम्बोधन गर्नका लागि केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, केन्द्रीय सदस्य उर्मिला थपलिया आइतबार साँझ नै कुश्मा पुगेको नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनीधि शर्माले बताएका छन्।
सभापति देउवा भने आज बिहान नौ बजे काठमाडौंबाट जहाजमार्फत पोखरा आएपछि त्यहाँबाट कुश्मासम्म सडक मार्गबाट आउने कार्यक्रम छ।
सम्मेलनको उद्घाटन सत्रमा सभापति देउवा सहित कोइराला, भण्डारी, पाण्डे, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र अर्की केन्द्रीय सदस्य अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ।


