प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले दाबीगर्ने बताउनुभएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिँदै उहाँले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गर्ने बताउनु भएको सांसद माधव सापकोटाले जानकारी दिनु भयो ।
‘बैठकमा बोल्ने अधिकांश सदस्यहरूको धारणा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले छाड्नु हुँदैन भन्ने रह्यो। प्रधानमन्त्रीले गठबन्धनको बैठकमा यसबारे कुरा राख्ने बताउनुभएको छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले इमान्दारिता नदेखाएको बताएका छन्।
इमान्दारिता नदेखाएकैले मत ट्रान्सफर हुन नसकेको र कोशीमा पार्टीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुन पुगेको उनीहरूको भनाइ छ।
फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको छ। कोशीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षका लागि आकांक्षी छन्।
राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।
राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक(एक जना सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ।


