प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । आठौं नुवाकोट महोत्सवलाई आज (शुक्रबार) यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले नुवाकोट दरबारको पुनर्निर्माणमा सरकारले ध्यान दिने बताउनुभयो । सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।


