सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैँकको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।
ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो ।

त्यो एक करोड ८२ लाख ५१ हजार रुपियाँ रहेको जानकारी प्रहरीले दिएको छ । बरामद गरेको नक्कली नोटको बण्डलमा एनआइसी बैँकको लोगोसहितको कागजले र्याप गरेको देखिएको छ ।
एनआइसी एसिया बैँकको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैँकबाट बाहिर गएको हो कि भन्ने आशंका गर्न सकिन्छ । तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको एनआइसी एसिया बैँक इनरुवा शाखाले जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका थिए ।


