स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।
विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको हो । यो वर्ष मङ्सिर महिनामा सुनको मूल्य बढेर सबैभन्दा धेरै प्रतितोला एक लाख २२ हजार रुपियाँसम्म पुगेको थियो । पछिल्लो समय भने घटेर एक लाख १८ हजार रुपियाँमा झरेको छ ।
छ महिनाको अवधिमा ११ अर्ब ८८ करोड रुपियाँ बराबरको एक हजार ३०१ किलो सुन आयात भएको विभागको तथ्याङ्क छ । सुन आयात घट्दा यसबाट सङ्कलन हुने राजस्वमा समेत कमी आएको छ ।
सुन आयातबाट छ महिनामा एक अर्ब ६२ करोड ७९ लाख रुपियाँ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्क छ । खुला बजारका कारण चोरी तस्करीबाट आउने सुनसमेत बजारमा जाने गर्दछ । विभिन्न वाणिज्य बैङ्कले दैनिक २० किलोका दरले सुन आयात गर्ने गरेका छन् । विगतका वर्षमा लगनको सिजनमा सुनको अभाव भए पनि यसपालि अभाव नभएको व्यवसायीको भनाइ छ ।
अघिल्ला वर्ष लगनको सिजनमा दैनिक ४० देखि ५० किलो सुन बजारमा खपत हुने गरेकोमा अहिले २० देखि ३० किलो खपत हुने गरेको व्यवसायी बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको हो पछिल्लो दुई सातादेखि बजारमा सुनको मूल्यमा उतारचढाव आएको छ । फागुन लागेसँगै सुनको मूल्य सामान्य घटबढ भई स्थिर अवस्थामै रहेको छ ।
गत मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात रुपियाँमा कारोबार भएको सुन मङ्गलबार एक लाख १८ हजार रुपियाँमा कारोबार भएको छ । यसैबिच चाँदीको मूल्य पनि स्थिर भई एक हजार ४१० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


