राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताउनुभएको छ ।
नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५०औँ वार्षिक समारोहको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपाल र जापानबिच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक संवृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल जापानबिचको मित्रतालाई अझै घनिभूत बनाउन जानको भूमिका महत्त्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपालका लागि जापानका राजदूत युताका किकुता, जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबो, जापान नेपाल समाजका अध्यक्ष मित्सुआकी, जानका अध्यक्ष डा. रामचन्द्र भुसाललगायतले नेपाल जापान सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो ।


