प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताउनुभयो । उहाँले मन्त्रालयहरु तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको चर्चा गर्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताउनुभयो । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताउनुभयो । उहाँले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महशुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महशुस आफूले गरेको बताउनुभयो । उहाँले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताउनुभयो ।


