अबदेखि स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् ।
यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो ।
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्तिका रूपमा लिइएको बताउनुभयो । उहाँका अनुसार ‘सङ्गठित व्यक्तिमा शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्ति पर्छन् । डा. लोहनीले कानुनमा सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताउनुभयो ।
विसं. २०७२ मा तीन वटा जिल्ला बागलुङ, इलाम र उदयपुरबाट परीक्षणका रूपमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ वटै जिल्लामा विस्तार भइसकेको छ । डा. बसौलाले यही वर्षदेखि ७५३ स्थानीय तहमा पु¥याउन लागिएको जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा ऐन अनुसार औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार यही वर्षदेखि राष्ट्रसेवकले तोकिएबमोजिम योगदान रकम तिरेर अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्ने छ । डा. बसौलाले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवामा कर्मचारी, संस्थान र उद्योग क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमामा समेट्न लागिएको बताउनुभयो ।
हालसम्म स्वास्थ्य बिमा कार्यक्रममा ७७ लाख ७१ हजार ८८३ जना (२६.५४ प्रतिशत) जनता स्वास्थ्य बिमामा आबद्ध छन् । यीमध्ये नवीकरण गर्नेहरू त झन् ६८ प्रतिशत रहेका छन् । बसौलाले स्वास्थ्य बिमामा सहभुक्तानी लागु भएको, अनलाइनबाट आबद्ध हुने व्यवस्था सुरु गर्न लागिएको, सेवा प्रदायक संस्थालाई प्रत्येक दुई महिनामा भुक्तानीको व्यवस्था गरी सुधारका प्रयास पनि थालिएको बताउनुभयो ।
स्वास्थ्य बिमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बिमामा देखिएका कमजोरीलाई हटाएर अगाडि बढ्ने अहिलेको चुनौती रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षाका कार्यक्रम एकद्वार प्रणालीमार्फत एकसाथ सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।


