नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवन गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको हो ।
नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्ने ३४ प्रतिशत रहेको जनाइएको छ । यीमध्ये पुरुष ५७ प्रतिशत र महिला ११ प्रतिशत छन् । प्रतिष्ठानका अनुसन्धानकर्ता कमल चौलागाईंका अनुसार युवा पनि सुर्तीजन्य पदार्थप्रति आकर्षित हुँदै गएका छन् । उक्त सर्वेक्षण अनुसार ४७ प्रतिशत युवाले हुक्का र ५८ प्रतिशतले इ–सिग्रेट सेवन गरेको पाइयो । तीमध्ये १५ देखि २४ वर्ष उमेर समूहका छन् ।
त्यस्तै सर्वेक्षण प्रतिवेदनले पहाडी क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन बढ्दो मात्रामा रहेको देखाएको छ । प्रदेश अनुसार कर्णालीमा सबैभन्दा बढी अर्थात् ४७.८ प्रतिशतले कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थ लिइरहेका छन् । त्यसपछि बागमती प्रदेशमा यो सङ्ख्या अन्य प्रदेशमाभन्दा न्यून रहेको छ । बागमतीमा २४ प्रतिशत सुर्तीजन्य पदार्थ लिने भेटिएका छन् ।
सर्वेक्षण अनुसार ७० प्रतिशत नागरिक सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने पक्षमा देखिएका छन् । कर वृद्धिका लागि सुझाव दिने ५६ प्रतिशत नागरिक सुर्तीजन्य पदार्थको प्रयोगकर्ता छन् । सर्वेक्षणले दक्षिण एसियाली मुलुकमा नेपालले सुर्तीजन्य पदार्थबाट सबैभन्दा कम राजस्व (२.५९) प्रतिशत मात्र सङ्कलन गर्ने गरेको उल्लेख छ ।


