गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ ।
विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
“कमजोर आर्थिक अवस्था भएका धेरैले स्वास्थ्य बिमा गर्न नसकेको अवस्था पनि छ”, उहाँले भन्नुभयो, “हामीले ल्याएको यस कार्यक्रमले उहाँहरूको स्वास्थ्य बिमा पनि हुने र विद्यालय भर्ना अभियान पनि प्रभावकारी हुन्छ भन्ने लागेको छ ।” नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमाका बारेमा सबै विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गराएर अभिभावकको घरघरमा पठाएको छ । “नगरपालिकाले गरिदिने स्वास्थ्य बिमाले एउटा परिवारका पाँच जनासम्मले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा गराइसकेका अभिभावकको हकमा भने कार्यक्रम लागू हुँदैन ।”
आगामी आर्थिक वर्षदेखि अन्य कक्षामा पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने योजना नगरपालिकाले बनाएको छ । यो कार्यक्रमले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै निःशुल्क हुनेछ ।
अन्य पालिकाबाट आएर गोरखा नगरपालिकामा अस्थायी बसोबास गरेकाहरुलेसमेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरे निःशुल्क स्वास्थ्य बिमाको सुविधा पाउने उहाँको भनाइ छ । नगरपालिकाले यसअघि नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ ।


