काठमाडौं ,जेठ २०
आईसीसी टी-२० विश्वकपमा अमेरिकाले विजयी सुरुआत गरेको छ।आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले आरोन जोन्सको आक्रामक अर्धशतकसँगै क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १९७ रन बनायो।
अमेरिका आरोन जोन्सले अविजित रहँदै सर्वाधिक ९४ रन बनाए। ४० बल खेलेका उनले ४ चौका र १० छक्का प्रहार गरे।एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए। कप्तान मोनाक पटेल १६ रनमा आउट हुँदा कोरी एनडर्सन ३ रनमा अविजित रहे।
क्यानडाका कलीम सना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिए। त्यसअघि ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।
क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए।जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए।
दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए।
आजै आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी पीएसजी बिच नेपाली समयअनुसार, राति सवा ८ बजे खेल हुनेछ ।विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल पर्सि नेदरल्यान्ड्ससँग खेल्नेछ ।


