स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट अपुग हुने भन्दै सांसदहरूले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट थप्न आग्रह गरेका छन् ।
उनीहरूले स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति नियन्त्रणका लागि अग्रसरता लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य क्षेत्रका लागि करिब ८६ अर्ब बजेट विनियोजन गरिएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै सभाका सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्ने विश्व स्वास्थ्य सङ्गठनको सुझाव रहे पनि ४.६४ प्रतिशत बजेट छुट्याइएकोमा स्वास्थ्य क्षेत्रको समस्या सम्बोधन हुन नसक्ने बताउनुभयो ।
पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले २०४६ सालको दरबन्दीबमोजिमको जनशक्तिले २०८१ सालमा स्वास्थ्य क्षेत्र हाँक्न नसकिने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको बेथिति अन्त्य गर्न जनशक्ति आवश्यक रहेको र जनशक्ति थप्दा बजेट अपुग हुने बताउनुभयो ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा करिब ४० जना सदस्यले भाग लिए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमाथिको समूहीकृत छलफल भएको छ । छलफलमा सांसदहरूले रुग्ण उद्योग सञ्चालन गर्न, बाँझो जग्गाको समुचित उपयोग गर्न, सहकारी समस्या समाधान गर्न सुझाव दिए ।


