अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित बिदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गर्नुभयो ।
उहाँले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उहाँले बताउनुभयो । आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँले जिकिर गर्नुभयो ।
बाह्र वर्षअघि पहिलो पटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पूरक बजेट ल्याएको स्मरण गर्दै उहाँले यसपटक संसदबाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यस पटकको बजेटको स्वामित्व धेरैले लिएको उहाँको भनाइ थियो । सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर योपटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।
मलुकु आर्थिक शिथिलताबाट माथि उठ्दै गर्दा तयार पारिएको बजेटले आशा जगाएको अर्थमन्त्री पुनको भनाइ छ । विगतमा जस्तो यस पटक बजेट महत्वाकांक्षी नरहेकाले कार्यान्वयन हुनेमा शङ्का नरहेको उहाँले उल्लेख गर्नुभयो । मुलुकको भू–अवस्थितिअनुसार आर्थिक विकासको अवधारणा र रुपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यसपटक विगतमा जस्तै कृषि, जलविद्युत, पर्यटन र उत्पादममुलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको चर्चा मन्त्री पुनले गर्नुभयो ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नुपर्ने भएपनि विगतमा विविध कारणले त्यसो हुन नसकेको अनुभव यस पटक आफूले गर्नुनपरेको पुनले अनुभव सुनाउनुभयो । अर्थमन्त्री पुनले कर्मचारीतन्त्रको मनोबल खस्किएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । असल नियतका साथ काम गर्दा तत्काल कुनै आरोप लागे पनि इतिहासले सही मूल्याङ्कन गर्ने भएकाले निडर भएर कार्यसम्पादन गर्न उहाँको सुझाव थियो । आफू जिम्मेवारीका हिसाबले जहाँ रहे पनि कर्मचारीतन्त्रको मनोबल उठाउने काममा लाग्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।


