करदाता कार्यालयले चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँको राजस्व उठाएको छ। गत वर्ष एक खर्ब ८६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। यो वर्ष भने ३१ अर्ब रुपैयाँले राजस्व बढेको कार्यालयले जनाएको छ।
सोमबार साँझ सात बजेसम्म समग्र राजस्व करिब १० प्रतिशत मात्रैले बढेको छ। तर ठूला करदाता कार्यालयबाट भने करिब १७ प्रतिशतको वृद्धिदर कायम भएको छ।
ठूला करदाता कार्यालयका प्रमुख प्रशासक जनक शर्माका अनुसार सोमबार मात्रै सात अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, असार महिनाभर ३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।
गत वर्ष असार मसान्तको दिन ८ अर्ब रुपैयाँ र असार महिनाभर ३० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।
सरकारले उठाउने कुल राजस्वमा ठूला करदाता कार्यालयमार्फत उठाइने राजस्वको हिस्सा मात्रै २० प्रतिशत हाराहारी छ।
यो कार्यालयलाई चालु आर्थिक वर्षमा दुई खर्ब ८६ अर्ब राजस्व संकलनको लक्ष्य दिइएको थियो। यो गत वर्ष उठेको वास्तविक संकलनको तुलनामा करिब ८४ प्रतिशतले बढी हो।
विशेष गरी बैंकको आम्दानी वृद्धिदरमा आएको कमी, अन्तःशुल्क घटेको तथा भ्याट वृद्धिदर लक्ष्यको तुलनामा भने निकै कम भएपछि १७ प्रतिशतको मात्रै वृद्धि कायम भएको छ।


