विश्व खेलकुदको महामुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा औपचारिक रुपमा सुरु भएको छ। फ्रान्सको पेरिसस्थित सेन नदीमा शुक्रबार राति भव्य समारोहबिच उद्घाटन गरिएको हो ।
ओलम्पिकको औपचारिक उद्घाटन भएपनि केहि खेल भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ । फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेका थिए । ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रङ्गशाला बाहिर भएको पहिलो पटक हो ।
ओलम्पिकमा सहभागी टोलीलाई डुङ्गा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास गराइएको थियो । पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास विश्वचर्चित आइफल टावरमा पुगेर टुङ्गिएको थियो । कडा सुरक्षाबिच भएको उद्घाटन समारोहको मार्च पासका लागि ८५ डुङ्गा प्रयोग गरिएको थियो ।
नेपालको झण्डा स्यान्टु र मतिनाले बोक्नुभयो
ओलम्पिक मार्च पासमा नेपालको झण्डा टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले बोक्नुभएको छ । लैङ्गिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक–२०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पासमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको थियो ।

मार्च पासमा श्यान्टु र मनितासहित नेपालबाट आठ जनाको सहभागिता रहेको थियो । नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी हुनुहुन्थ्यो । मार्च पासमा नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुङ्गामा राखिएको थियो ।


