क्यान्सरका बिरामीले सबै प्रदेशबाट उपचार पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेसँगै यो उपचार सम्भव भएको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गर्दै पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति बनाउने निर्णय गर्नुभएको थियो । सोही निर्णयअनुसार सबै प्रदेशमा क्यान्सरको विशेषज्ञ सेवा दिने उद्देश्यले मन्त्री पौडेलले क्यान्सर उपचार सेवा विस्तार गर्न कार्यविधि २०८१ पारित गरेसँगै क्यान्सरका बिरामीले सातै प्रदेशबाट उपचार पाउने भएका हुन् । क्यान्सर रोग नियन्त्रण गर्न मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० स्वीकृत गरिसक्नुभएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रदेशमा क्यान्सरको सेवा विस्तार गर्ने योजनासहित कार्यविधि स्वीकृत गरेको जानकारी दिनुभयो । विस्तारित सेवा बिहीबार विराटनगरबाट सुरु गर्न लागेको डा. बुढाथोकीको भनाइ छ । हाल बाग्मती र लुम्बिनी प्रदेशमा मात्रै सरकारी स्तरका क्यान्सर अस्पताल छन् । सीमित अस्पताल हुँदा क्यान्सरका बिरामी उपचारका लागि काठमाडौं, भक्तपुर, भरतपुर, जान बाध्य छन् । यसले गर्दा क्यान्सर अस्पतालमा बिरामीको चाप बढ्ने गरेको छ ।


