प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले गरेको प्रदर्शनमा भएको हिंसा र बल प्रयोगको विषयमा निष्पक्ष छानबिन हुने बताउनु भएको छ । उहाँले यसका लागि न्यायिक छानबिन आवश्यक नहुन पनि सक्ने बताउनु भयो ।
शनिबार त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको कुराकानी गर्नुहुदै प्रधानमन्त्री ओलीले न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ, तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन भन्नुभयो’ ।
त्यस्तै, शिक्षकहरूको आन्दोलनको विषयमा उनले यसलाई सरकारले नकारात्मक दृष्टिकोणले नहेरेको स्पष्ट पार्दै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले, ‘हामीहरू कुराकानी गर्छौँ, उहाँहरूको कुरा सुन्छौँ । न उहाँहरू सरकार विरोधी हो न सरकार उहाँहरू विरोधी हो । सबै हामी एउटै हौँ । के कति गर्न सकिन्छ, के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न सकिन्छ ।’


