नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न शिक्षकहरूलाई अपिल गर्नु भएको छ । ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं ।’ उहाँले भन्नुभयो ।
उहाँले आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताउनु भएको छ । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा प्रचण्डले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताउनु भएको छ ।
चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् । अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने आश्वशन दिनुभयो । ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि माग पूरा गर्नेतिर हामी अघि बढ्छौं । म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु,’ उहाँले भन्नुभयो ।


