प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको दाबी गर्नु भएको छ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजनाहरू संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी गर्नु भएको छ
उहाँले बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको बतउनु भयो । सहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने उहाँको भनाई छ।
उहाँले भने, ‘यस पटक हिजो सहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको सिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन् अरू अरूतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबै खाले आफूखुसी राखेको देखिन्छ ।’ भन्नुभयो ।


