नेपाली कथानक चलचित्र ‘महाभोज’ हेरेपछि सामन्तवाद अन्त्य भए पनि अवशेष अझै बाँकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउनु भयो । उहाँले लामो समयपछि चलचित्र हलमा गएर ‘महाभोज’ चलचित्र हेरेको पनि बताउनु भयो। चलचित्र हेरेपछि सामाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रियामा उनले चलचित्रलाई ‘चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक’ भन्दै प्रशंसा गर्नुभयो ।

प्रचण्डले चलचित्रले सामन्तवादको अन्त्य भए पनि त्यसका केही अवशेष अझै बाँकी रहेको यथार्थलाई उजागर गरेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ ।’
उहाँले यथार्थ चित्रणमा जीवन्त अभिनय प्रस्तुत गर्ने सम्पूर्ण कलाकार, निर्माता, निर्देशक र निर्माण टिमलाई मनदेखि धन्यवाद दिँदै युवा पुस्तालाई पनि चलचित्र हेरेर यसको गहिरो सन्देश बुझ्न अपिल गर्नुभएको छ।


