नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको आज स्मृति दिवस । पूर्वप्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै कांग्रेसले आज देशैभरि उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न कार्यक्रम आयोजना गर्दैछ ।
स्मृति दिवसको सन्दर्भ पारेर बिपीको सम्झना गरिरहँदा राजनीतिज्ञ एवं उहाँसँगै काम गरेका नेता र विश्लेषकले उहाँले देखाएको समाजवादको बाटो र राजनीतिक रूपान्तरणप्रतिको दृढतालाई अनुसरण गर्दै आर्थिक विकासमार्फत नेपालको समुन्नतितर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, पूर्वराजदूत प्राडा लोकराज बराल र बाम राजनीतिज्ञ पम्फा भुसालले नेपालमा लोकतन्त्र स्थापना गर्ने अभियानको आरम्भ गर्ने श्रेय बिपी कोइरालालाई नै जाने बताउनुभयो ।


