स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक बर्से प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।
सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी पौडेलले सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि नीतिगत निर्णय गर्नुका साथै स्वास्थ्य बिमा सुधारले नतिजास्वरूप परिवर्तन देखिन थालेको दाबी गर्नु भयो । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को प्रगति प्रतिवेदनमा मन्त्री पौडेलले स्वास्थ्यमा सकारात्मक सुधारको सुरुवात गरेको दाबी गर्नुभएको छ ।
सिकसेल एनिमिया तथा हेमोफिलियाजस्ता जटिल रोगमा विपन्न नागरिकको उपचारका लागि निःशुल्क उपचारका साथै बाल क्यान्सर र नेपालमा औषधि प्राप्त गर्न कठिन जटिल क्यान्सरका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको बताउनु भयो ।
पौडेलले विपन्नलाई जलन उपचारसमेत निःशुल्क गरेको र थारु समुदायले वर्षौँदेखि भोगिरहेको सिकलसेल तथा थालिसिमियाका बिरामीलाई बेग्लै वार्ड तथा निःशुल्क खोपको व्यवस्थासमेत गरिएको उल्लेख गर्नुभयो । सङ्घीय राजधानीकेन्द्रित क्यान्सर, मुटु रोग, मानव अङ्ग प्रत्यारोपणजस्ता विशिष्ट उपचार प्रादेशिक अस्पतालमा विस्तार गरिएको बताउनु भयो ।
देशको प्रजनन दरलाई प्रतिस्थापन दरमा पुर्याउन प्रोत्साहन गर्ने नीतिले हालको परिवारको आकार सीमित राख्ने सरकारी नीतिलाई खुलापन ल्याउने र सरकारी सेवा सुविधामा सन्तान सङ्ख्याका आधारमा विभेद नगर्ने लक्ष्य राखेको छ ।


