कास्कीमा डेङ्गुका बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ। अबदेखि ‘खोज र नष्ट’ अभियानअन्तर्गत सातामा एकपल्ट सरकारी कार्यालय सरसफाइको अभियानै थालिने भएको छ।
एक तथ्यांक अनुसार कास्कीमा हाल एक सय ८६ जना डेङ्गुका बिरामी छन्। तीमध्ये ९५ प्रतिशत पोखरा महानगरपालिका भित्रैका हुन्। गत वर्ष कास्कीमा नौ हजार ८ सय जना डेङ्गु संक्रमण देखिएकोमा आठ बिरामीको मृत्यु भएको थियो। यस वर्ष देशभर ६० हजारभन्दा बढी संक्रमित हुनसक्ने अनुमानसहित स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन यसअघि नै आग्रह गरेको थियो।
जिल्ला प्रशासन कार्यालयमा कास्कीका सरकारी कार्यालयका प्रमुखको नियमित बैठकमा समेत जिल्लामा डेङ्गु संक्रमण बढेकोले सतर्कता अपनाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
प्रमुख जिल्ला अधिकारीको आह्वानमा प्रत्येक महिनाको ५ गते नियमित बैठक बस्ने सन्दर्भमा सोमबार बसेको बैठकमा प्रदेश जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले जिल्लामा डेङ्गुका बिरामीको बारेमा ब्रिफिङ गर्नुभएको हो। नेपालीले कास्कीमा सरकारी तथ्यांक अनुसार हाल एक सय ८६ जना संक्रमित रहेको उल्लेख गर्दै उक्त संख्या अझ बढी हुनसक्ने अनुमान रहेको बताउनुभयो। उहाँले साउनदेखि सुरु भएर कात्तिकसम्म डेङ्गुको बढी जोखिम हुने बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको सो बैठकले प्रत्येक साताको शुक्रबार सरकारी कार्यालयमा ‘खोज र नष्ट’ अभियान संचालन गर्ने निर्णय गरेको हो। बैठकमा कास्कीका करिब ६० सरकारी कार्यालयका प्रमुखले भाग लिएका थिए।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकस्तरबाट सचेतना अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पालिकामा कार्ययोजना बनाएर खोज र नष्ट गर्ने अभियान चलाउनुपर्ने बताउनुभयो।



