नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिक रहेको बताउनु भएको छ ।
स्वर्गीय नेता कर्माचार्यको स्मृति दिवसमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले नेता कर्माचार्यलाई सरलता, सज्जनता र सही विचारप्रति अविचलित प्रतिबद्धता राख्ने नेता भएको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले २०४६ सालको जनआन्दोलनपछि माओवादी विचारधारा मान्ने शक्तिहरू एकताबद्ध भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यही समय उहाँसँग सहकार्य गर्ने मौका पाएको बताउनु भयो । उहाँले स्वर्गीय नेता कर्माचार्यको योगदानको स्मरण गर्दै आफूले सधैँ आफ्नो अभिभावकको रूपमा सम्झिने गरेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले कर्माचार्यको वैचारिक दृढता नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको औल्याउनु भयो ।


