राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गर्नुभएको छ । उहाँले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान् नेतृत्वको खाँचो रहेकोमा जोड दिनुभएको छ ।
राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान् नेतृत्वको खाँचो छ ।”

उहाँले राजनीति पेशा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव हामी सबैमा जागृत हुन जरुरी छ भन्नुभयो । “नेपाली जनताले यतिबेला हामीसँग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौं”, राष्ट्रपति पौडेलले भन्नुभयो । युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उहाँको भनाइ थियो ।
मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गर्नुभयो ।


