काठमाडौँ ।पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले १७ वर्षको जेल सजाय सुनाएको छ।
शनिबार सुनाइएको फैसलाअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना समेत तोकिएको छ। अदालतले जरिवाना तिर्न नसके थप जेल सजाय लाग्ने चेतावनी पनि दिएको छ।रावलपिन्डीस्थित अडियाला जेलमै गरिएको सुनुवाइमा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएका हुन्।
फैसलाअनुसार इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५(२) अन्तर्गत सात वर्षको सश्रम कारावास गरी कुल १७ वर्षको जेल सजाय सुनाइएको हो।
इमरानकी पत्नी बुशरा बीबीलाई पनि सोही प्रावधानअनुसार नै १७ वर्ष कैद सजाय सुनाइएको छ।
यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोप अस्वीकार गर्दै मुद्दा राजनीतिक प्रतिशोध र सत्ता खेलको हिस्सा भएको दाबी गरेका थिए।
डनका अनुसार पिटिआई संस्थापक इमरानले प्रधानमन्त्री कार्यालय प्रोटोकल अनुसार सबै प्रक्रिया पूर्णरूपमा पालना गरिएको, आवश्यक मूल्याङ्कन र भुक्तानी राष्ट्रिय कोषमा गरिएको तथा सम्पत्ति कानुनीरूपमा राखिएको बताएका थिए।


