काठमाडौं , पौष १६
रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचन जितेका नेकपा (एमाले) का निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले परित्याग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू अब पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने घोषणा गरेका हुन्।
घिमिरे एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा रहेको विश्वस्त स्रोतले जनाएको छ। स्रोतका अनुसार घिमिरेको रास्वपा प्रवेशबारे हाल गहन छलफल चलिरहेको छ। रास्वपाले उनलाई रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको बताइएको छ।
रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल लामो समयदेखि निर्वाचन लड्दै आएका छन्। २०७९ को निर्वाचनमा पौडेलले निकै प्रतिस्पर्धात्मक चुनाव जितेका थिए। उक्त निर्वाचनमा पौडेलले २७ हजार १४८ मत प्राप्त गर्दा रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए।
यसैगरी, रुपन्देही क्षेत्र नम्बर ५ मा भने वासुदेव घिमिरेले ठूलो मतान्तरसहित विजय हासिल गरेका थिए। उनले ३६ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसका भरत कुमार शाहले २७ हजार १२० मत पाएका थिए। घिमिरेले करिब ९ हजारभन्दा बढी मत अन्तरले निर्वाचन जितेका थिए।
पहिले नै रास्वपा बलियो मानिएको क्षेत्रमा एमालेका प्रभावशाली नेता रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा हुनु एमालेका लागि ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ।


