जेठ ५ , भरतपुर । चितवनको खैरहनी नगरपालिका वडा नं ८ पर्साबजारको चौबिसकोठीमा लागूऔषध ओसारपसार एवं बिक्री वितरण भइरहेको सूचनाको आधारमा बुधबार बेलुकी ८ः३० बजे दुई युवालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला महोत्तरी मनरा सिसवा नगरपालिका वडा नं २ बस्ने २५ वर्षीय विष्णुदेव अधिकारी र काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं ४ बस्ने २९ वर्षीय कृष्ण गुरूङ रहेका छन् ।
निजहरुको साथबाट लागूऔषध नाइट्राजेपाम २९७० ट्याबलेट र औषधिजन्य ट्रामाडोल ११०४ क्याप्सुल बरामद गरेको छ । पक्राउ परेका दुवै जना युवालाई बिहीबार लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


