काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कारबाहीको विरुद्धमा उत्रिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी भेनेजुएलाकी नवनियुक्त राष्ट्रपति डेल्सी रोड्रिगेजलाई दिएका छन्।
रोड्रिगेजले औपचारिक रूपमा शपथ लिनुअघि नै ट्रम्पको यो चेतावनी आएको हो। नवनियुक्त राष्ट्रपति रोड्रिगेजले आफ्ना नेता निकोलस मादुरो र उनकी श्रीमतीलाई तत्काल रिहा गर्न माग गर्दै अमेरिकी कदमको कडा आलोचना गर्नुभएको छ।
तर अमेरिकाले भने मादुरोको कार्यकालमा भेनेजुएलाका नागरिकले गम्भीर दुःख भोग्नुपरेको दाबी गर्दै अब देशमा विकास र प्रगतिको नयाँ बाटो खुल्ने बताउँदै आएको छ।
यसैबीच, अमेरिकाले भेनेजुएलामाथि कूटनीतिक र आर्थिक दबाब थप कडा बनाउँदै लगेको जनाएको छ। भेनेजुएलाको अन्तरिम नेतृत्वले आगामी दिनमा लिने कदमलाई अमेरिकाले नजिकबाट मूल्याङ्कन गर्ने र त्यसअनुसार नीति तय गर्ने अमेरिकी प्रशासनको भनाइ छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पले भेनेजुएलासम्बन्धी नीतिगत निर्णयमा सबै विकल्प खुला राख्ने नीति अपनाएको स्पष्ट गर्नुभएको छ।
यता, भेनेजुएलाका कार्यवाहक राष्ट्रपति रोड्रिगेजले अमेरिकी कारबाहीप्रति आपत्ति जनाउँदै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न पुनः माग गर्नुभएको छ।
अमेरिकी कदमप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरेको छ। धेरै देशहरूले एक सार्वभौम राष्ट्रमाथि गरिएको बल प्रयोगप्रति असहमति जनाउँदै शान्तिपूर्ण समाधानको आह्वान गरेका छन्।
यसै क्रममा युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढाउन सबै पक्षलाई ‘संयम र शान्ति’ अपनाउन आग्रह गरेको छ।
उल्लेखनीय छ, शनिबार अमेरिकाले भेनेजुएलामा गरेको सैन्य कारबाहीपछि हाल राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती न्यूयोर्कको हिरासतमा रहेको बताइएको छ।


