काठमाडौं । एक्सन–ड्रामा जनरामा निर्माण भइरहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ । पश्चिम नेपालका विभिन्न स्थानमा ४५ दिन लगाएर चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जनाएको छ ।
चलचित्रलाई जीवन सिंहले निर्देशन गरेका छन् । ‘हन्टर’ उनको निर्देशनमा डेब्यू चलचित्र हो । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको यस चलचित्रका लेखक र सम्पादक पनि निर्देशक सिंह स्वयं हुन् ।
चलचित्रले सुदूरपश्चिम क्षेत्रको कथा प्रस्तुत गर्नेछ । निर्देशक सिंहका अनुसार ‘हन्टर’ एक एक्सन इन्टरटेनर हो, जुन वास्तविक पात्रको कथाबाट प्रेरित छ । यद्यपि, कथालाई सिनेम्याटिक रूपमा फिक्सनाइज गरिएको उनले बताएका छन् ।
चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री रहेका छन् । उनका साथमा प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीको अभिनय रहेको छ ।
चलचित्रमा कृष्ण थापा डीओपीका रूपमा छन् भने एक्सन निर्देशन शुक्रराज साहले सम्हालेका छन् । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत समावेश छ ।
‘हन्टर’मा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ । चलचित्रका कार्यकारी निर्माता रोयल भिमसेन हुन् । ममता सिंह, गोविन्द राज रोक्का र राज ए. भट्ट निर्माता रहेको यस चलचित्रमा मनीष चन्द सह–निर्माताको रूपमा छन् ।
चलचित्रको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम सम्पन्न भएपछि मात्रै रिलिज मिति घोषणा गरिने निर्देशक सिंहले जानकारी दिएका छन् ।


